

काठमाडौं । सुनसरीसहित मधेसका विभिन्न जिल्लामा देखिएको तनावपूर्ण अवस्थाबारे प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मधेस केन्द्रित राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा जनमत पार्टीका अध्यक्ष सी.के. राउत, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो तथा आम जनता पार्टीका अध्यक्ष प्रभु शाह सहभागी छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलमा नेता लालबाबु राउत, रामकुमार शर्मा, समिम मियाँ अन्सारी, अमरेशकुमार सिंह र शरतसिंह भण्डारीको पनि सहभागिता रहेको छ।
छलफलमा मधेसका विभिन्न जिल्लामा विकसित सुरक्षा अवस्था, सामाजिक सद्भाव कायम गर्ने उपाय तथा शान्ति–सुरक्षा सुदृढ बनाउने विषयमा विचार–विमर्श भइरहेको जनाइएको छ।
यसअघि प्रधानमन्त्री शाहले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै सबै पक्षलाई संयमता अपनाउन, सामाजिक सद्भाव कायम राख्न र अफवाहबाट टाढा रहन आग्रह गरेका थिए। उनले राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय यादवसँग पनि पछिल्लो परिस्थितिबारे छलफल गरेका थिए।
यस्तै, गृहमन्त्री सुधन गुरुङ बिहीबार सुनसरी पुगेर घटनाप्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुका साथै पीडित परिवारसँग भेटघाट तथा छलफल गरेका थिए।