सुनसरी घटनापछि मधेशका चार जिल्लामा आज पनि कर्फ्यु कायम

सुनसरी घटनापछि मधेशका चार जिल्लामा आज पनि कर्फ्यु कायम

जनकपुरधाम । सुनसरीको देवागञ्ज गाउँपालिका–कप्तानगञ्जमा दुई समुदायबीच भएको विवाद हिंसात्मक बनेपछि त्यसको प्रभाव मधेश प्रदेशका विभिन्न जिल्लामा परेको छ। सुरक्षा अवस्था संवेदनशील बनेसँगै मधेशका चार जिल्लामा जारी कर्फ्यु आदेश आज पनि निरन्तर रहने भएको छ।

जिल्ला प्रशासन कार्यालय सिरहा, धनुषा, पर्सा र सप्तरीले जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा जारी गरेको कर्फ्युलाई यथावत् राख्ने निर्णय गरेका हुन्। प्रशासनका अनुसार शान्ति–सुरक्षाको अवस्था पूर्ण रूपमा सामान्य नभएसम्म कर्फ्यु हटाइने छैन।

हिजो सिरहाको गोलबजारबाट सुरु भएको हिंसात्मक घटनामा तोडफोड, आगजनी, लुटपाट तथा झडपका घटना भएका छन्। घटनामा हालसम्म एक जनाको मृत्यु भएको छ भने नेपाल प्रहरीका दुई डीएसपीसहित २२ जना प्रहरीसहित दर्जनौँ व्यक्ति घाइते भएको सुरक्षा स्रोतले जनाएको छ।

स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालाई संवेदनशील क्षेत्रमा उच्च सतर्कताका साथ परिचालन गरिएको छ। प्रमुख बजार, चोक तथा सम्भावित जोखिमयुक्त क्षेत्रमा सुरक्षा गस्तीसमेत बढाइएको छ।

स्थानीय प्रशासनले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गर्दै अफवाह र भ्रामक सूचनामा विश्वास नगर्न अनुरोध गरेको छ। सामाजिक सञ्जालमा उत्तेजनात्मक वा भ्रामक सामग्री नफैलाउन तथा कुनै पनि शंकास्पद गतिविधिबारे तत्काल सुरक्षा निकायलाई जानकारी गराउन पनि प्रशासनले अपिल गरेको छ।

प्रशासनले सुरक्षा अवस्थाको निरन्तर समीक्षा भइरहेको जनाउँदै परिस्थितिअनुसार कर्फ्यु आदेशबारे थप निर्णय गरिने जनाएको छ।