

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले राष्ट्रका नाममा सम्बोधन गर्दै सबै नेपालीलाई संयमता अपनाउन तथा सामाजिक सद्भाव, आपसी एकता र भाइचारालाई कायम राख्न आग्रह गरेका छन्।
बिहीबार राष्ट्रका नाममा करिब ४ मिनेट २८ सेकेन्डको सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपाली र मैथिली भाषामा देशवासीलाई सम्बोधन गरेका हुन्।
सम्बोधनका क्रममा उनले नेपालको इतिहासले कठिनभन्दा कठिन परिस्थितिमा पनि आपसी एकता, सहिष्णुता र विवेकका बलमा चुनौतीहरूको सामना गरेको स्मरण गराउँदै अहिले पनि त्यही मार्ग अपनाउनुपर्नेमा जोड दिए।
‘हाम्रो इतिहास साक्षी छ, कठिनभन्दा कठिन र अप्ठ्यारो परिस्थितिमा पनि आपसी एकता, सहिष्णुता र विवेक नै हाम्रो सबैभन्दा ठूलो शक्ति बनेका छन्। हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनुपर्नेछ,’ प्रधानमन्त्री शाहले सम्बोधनमा भने।
प्रधानमन्त्री शाहले सुनसरीलगायत विभिन्न क्षेत्रमा विकसित पछिल्लो घटनाबारे निष्पक्ष छानबिन गरिने र दोषीमाथि कानुनबमोजिम कडा कारबाही गरिने प्रतिबद्धता पनि व्यक्त गरे।
उनले सबै राजनीतिक दल, समुदाय, नागरिक समाज र आम नागरिकलाई अफवाहबाट टाढा रहँदै शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सहयोग गर्न आह्वान गरेका छन्।