सुनसरी घटनाप्रति राष्ट्रपतिको चिन्ता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल

सुनसरी घटनाप्रति राष्ट्रपतिको चिन्ता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जलगायतका क्षेत्रमा हालै उत्पन्न विषम परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्दै सामाजिक, धार्मिक, जातीय सद्भाव तथा राष्ट्रिय एकता कायम राख्न सबैमा अपिल गरेका छन्।

बिहीबार जारी गरेको अपिलमा राष्ट्रपति पौडेलले नेपाल सदियौँदेखि सामाजिक, धार्मिक र जातीय सहिष्णुता, मेलमिलाप तथा भ्रातृत्वको उदाहरण रहँदै आएको उल्लेख गर्दै यही मूल्य र परम्परालाई जोगाउनु आजको आवश्यकता भएको बताएका छन्।

‘सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व नै नेपालको पहिचान र परम्परा हो। यसलाई कायम राख्दै शान्ति, अमनचयन र सुव्यवस्था स्थापित गरी राष्ट्रिय एकतालाई थप मजबुत बनाउन म सबै राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई आग्रह गर्दछु,’ अपिलमा उल्लेख छ।

राष्ट्रपतिले वर्तमान विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउँदै शान्ति–सुव्यवस्था पुनःस्थापित गर्न तथा नागरिकले सुरक्षित र शान्तिपूर्ण वातावरणमा जीवनयापन गर्न सक्ने अवस्था सिर्जना गर्न सरकार सफल हुने विश्वास व्यक्त गरेका छन्।

उनले समुदायबीचको एकता, आपसी सद्भाव, मित्रता र सहिष्णुता कायम राख्न सबै पक्षलाई संयमित र जिम्मेवार बन्न आग्रह गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

राष्ट्रपति पौडेलले घटनामा ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।