

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा प्रतिनिधिसभा सदस्य मनिष झाले गृह प्रशासनको भूमिकामाथि उठिरहेका प्रश्नहरू गम्भीर रहेको बताएका छन्।
पार्टी सभापति रवि लामिछानेसँग मधेस प्रदेशका रास्वपाका सांसदहरूको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै झाले गृहमन्त्री सुधन गुरुङ आन्दोलनबाट स्थापित नेतृत्व भएकाले वर्तमान परिस्थितिको संवेदनशीलता बुझ्नुपर्ने बताए।
‘सडकबाट गृह प्रशासनको भूमिकाबारे उठिरहेका प्रश्नहरू गम्भीर छन्। गृहमन्त्री आफैं आन्दोलनको पृष्ठभूमिबाट आउनुभएको व्यक्ति हो। उहाँले पीडितको पीडा नजिकबाट अनुभूति गर्नुभएको छ,’ उनले भने।
झाले पछिल्लो घटनाक्रमको छिटो र प्रभावकारी समाधान निकाल्न सरकारले आवश्यक पहल गर्ने अपेक्षा पनि व्यक्त गरे।
सुनसरी घटनामा राज्यको सक्रियता र तदारुकता अपेक्षाअनुसार हुन नसकेको उनको भनाइ थियो। ‘राज्यको सक्रियता जति हुनुपर्थ्यो, त्यति भएको देखिएन। मृतकका परिवारले उचित सान्त्वना र क्षतिपूर्ति पाउनुपर्छ। त्यसतर्फ केही कमी देखिएको छ,’ उनले बताए।
धनुषा–३ बाट निर्वाचित सांसद झाले सुनसरीबाट सुरु भएको तनाव अन्य जिल्लामा समेत फैलिँदै गएको उल्लेख गर्दै जनकपुरको सुरक्षा अवस्थाप्रति पनि चिन्ता व्यक्त गरे।
‘आज जनकपुर सुरक्षित देखिँदैन। अधिकांश पसल बन्द छन्, बजार ठप्प छ र चोक–चोकमा टायर बालेर विरोध भइरहेको छ। समग्र अवस्था निकै संवेदनशील देखिएको छ,’ उनले भने।