लहान बजारमा पनि अनिश्चितकालीन कर्फ्यू, आवतजावत र भेला–प्रदर्शनमा रोक

लहान बजारमा पनि अनिश्चितकालीन कर्फ्यू, आवतजावत र भेला–प्रदर्शनमा रोक

सिरहा । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न तनावका कारण सिरहाको लहान बजार क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सिरहाले बिहीबार अपराह्न ४ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू लागू गरेको हो। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी आदेशअनुसार कर्फ्यू अवधिभर कुनै पनि व्यक्तिलाई तोकिएको क्षेत्रमा आवतजावत गर्न अनुमति रहने छैन।

प्रशासनका अनुसार लहान नगरपालिकाअन्तर्गत पूर्व–पश्चिम राजमार्गको पूर्वतर्फ बलान खोलासम्म, पश्चिमतर्फ सरस्वती खोला (बाटिका होटल पश्चिम)सम्म तथा दक्षिणतर्फ पूर्व–पश्चिम राजमार्गदेखि ५०० मिटर क्षेत्रभित्र कर्फ्यू लागू गरिएको छ।

कर्फ्यू अवधिमा आवतजावत, भेला, प्रदर्शन, सभा, बैठक, घेराउ तथा नाराबाजीजस्ता गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई कर्फ्यू आदेशको पूर्ण पालना गर्न तथा शान्ति–सुरक्षा कायम राख्न सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गरेको छ।