सुनसरी घटनाप्रति पूर्वराजा ज्ञानेन्द्रको दुःख व्यक्त, संयम र सद्भाव कायम राख्न आग्रह

सुनसरी घटनाप्रति पूर्वराजा ज्ञानेन्द्रको दुःख व्यक्त, संयम र सद्भाव कायम राख्न आग्रह

काठमाडौं । सुनसरीलगायतका क्षेत्रमा हालै भएका आपसी द्वन्द्व र तनावपूर्ण घटनाप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गर्दै सबै नेपालीलाई संयम अपनाउन तथा सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।

निर्मल निवासस्थित संवाद सचिवालयमार्फत जारी गरिएको सन्देशमा सुनसरीमा भएको आपसी द्वन्द्वका कारण जनधनको क्षति भएको र त्यसको प्रभाव कोशी प्रदेश तथा तराईका अन्य क्षेत्रमा समेत फैलिएकोप्रति उनले चिन्ता व्यक्त गरेका छन्।

पूर्वराजा ज्ञानेन्द्रले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषताले सम्पन्न मुलुक भएकाले यही विविधता नै नेपालको गौरव र पहिचान भएको उल्लेख गर्दै यसमा कुनै पनि प्रकारको खलल पुग्न नहुने बताएका छन्।

सन्देशमा नेपाली समाज परम्परादेखि नै आपसी मेलमिलाप, सहिष्णुता र सद्भावका साथ अघि बढ्दै आएको उल्लेख गर्दै देशको मौलिक मूल्य र सामाजिक एकताविपरीतका यस्ता घटना चिन्ताजनक भएको जनाइएको छ।

‘यो हाम्रो मौलिक मूल्य र मान्यताविपरीतको विषय हो। त्यसैले जुनसुकै भूभागमा रहे–बसेका सबै नेपाली मिलेर सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाऔँ। यही हाम्रो आग्रह र आजको आवश्यकता हो,’ सन्देशमा उल्लेख गरिएको छ।