सिरहा झडपमा गोली लागेर एक जनाको मृत्यु

सिरहा झडपमा गोली लागेर एक जनाको मृत्यु

सिरहा । सिरहामा भएको झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका एक किशोरको मृत्यु भएको छ।

जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) चेतराज बरालका अनुसार औरही गाउँपालिका–२ का अन्दाजी १५ वर्षीय गणेश यादवको उपचारका क्रममा मृत्यु भएको हो।

‘मृत्यु भएको भन्ने खबर आएको छ। औरही गाउँपालिका–२ का गणेश यादवको निधन भएको जानकारी हामीले पाएका छौं,’ सहायक सीडीओ बरालले बताएका छन्।

घटनापछि त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सम्भावित अप्रिय घटना रोक्न बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको प्रशासनले जनाएको छ।

सहायक सीडीओ बरालका अनुसार घटनाबारे थप विवरण संकलन भइरहेको छ। जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सिरहाका विभिन्न क्षेत्रमा कर्फ्यू आदेशसमेत जारी गरिएको छ।