प्रदर्शन चर्किएपछि जनकपुरधाममा पनि कर्फ्यू जारी

प्रदर्शन चर्किएपछि जनकपुरधाममा पनि कर्फ्यू जारी

जनकपुरधाम । प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका र आसपासका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।

प्रशासनले बिहीबार दिउँसो ३ः३० बजेदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने गरी कर्फ्यू आदेश जारी गरेको हो।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार जनकपुरधाम उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र, लक्ष्मीनिया गाउँपालिका तथा नगराइन नगरपालिकाका तोकिएका विभिन्न क्षेत्रमा कर्फ्यू लागू गरिएको छ।

प्रशासनले पछिल्लो सुरक्षा अवस्था र सार्वजनिक शान्ति–सुव्यवस्था कायम राख्न कर्फ्यू आदेश जारी गरिएको जनाएको छ। साथै, सर्वसाधारणलाई कर्फ्यू आदेशको पूर्ण पालना गर्न तथा सुरक्षा निकायको निर्देशनअनुसार मात्रै आवतजावत गर्न आग्रह गरिएको छ।

यसअघि सुनसरीको कप्तानगञ्ज घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन चर्किएको थियो। प्रदर्शनका क्रममा केही स्थानमा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको थियो, त्यसपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो।