

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न सुरक्षा अवस्थाबारे राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा समीक्षा गरिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको परिषद् बैठकमा दुई पक्षबीच भएको झडपमा एक जनाको मृत्यु भएपछि विकसित समग्र सुरक्षा अवस्थाबारे विस्तृत छलफल भएको हो।
बैठकमा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सबै सुरक्षा निकाय तथा सरोकारवाला निकायबीच प्रभावकारी समन्वय गर्दै सामाजिक सद्भाव, साम्प्रदायिक सहिष्णुता र राष्ट्रिय एकतालाई सुदृढ बनाउने विषयमा जोड दिइएको छ।
परिषद्ले शान्ति–सुरक्षा कायम गर्न आवश्यक सतर्कता अपनाउने तथा संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल गरेको जनाएको छ।
बैठकमा मनसुनजन्य विपद् तथा त्यसको प्रतिकार्य, उद्धार र राहत व्यवस्थापनका विषयमा पनि समीक्षा गरिएको थियो।
सुनसरी घटनापछि विकसित परिस्थितिलाई ध्यानमा राख्दै प्रधानमन्त्री शाहले राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गरेका थिए।