

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशभर सामान्यदेखि पूर्ण बदली रहने तथा अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार बिहीबार बिहान देशभर सामान्यतया बदली रहेको छ भने सबै प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।
यस्तै, कोशी प्रदेशको तराईका केही स्थान, मधेश प्रदेश तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा हुरी चल्ने सम्भावना पनि महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने कोशी प्रदेशका पहाडी र तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।
त्यसैगरी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग, बागमती, गण्डकी र सुदूरपश्चिमका तराईका थोरै स्थान तथा मधेश र लुम्बिनी प्रदेशका तराईका एक-दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्र र बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा राति पनि भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
महाशाखाले भारी वर्षा, चट्याङ र हुरीको सम्भावना रहेका क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।