

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रशासनिक समन्वय र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले विभिन्न स्थानमा छरिएर रहेका आफ्ना प्रशासनिक संरचनालाई एउटै भवनमा केन्द्रित गर्ने प्रक्रिया अघि बढाएको छ।
गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा रामशाहपथस्थित मन्त्रालयको मुख्य भवन आगलागीबाट पूर्ण रूपमा नष्ट भएपछि मन्त्रालयले अस्थायी संरचनाबाट सेवा प्रवाह गर्दै आएको थियो।
घटनापछि सिंहदरबारभित्र नेपाली सेनाको खाली जग्गामा प्रिफ्याब क्याबिन निर्माण गरी सचिवसहित विभिन्न महाशाखाहरू सञ्चालनमा ल्याइएको थियो। तर, स्वास्थ्यमन्त्रीको कार्यकक्ष भने भूमि, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भवनमा राखिएको थियो। मन्त्री र कर्मचारी फरक–फरक स्थानबाट काम गर्नुपर्दा समन्वय तथा कार्यसम्पादनमा कठिनाइ हुँदै आएको थियो।
यही अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले भूमि, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भवनको दोस्रो र तेस्रो तलामा आफ्नो प्रशासनिक संरचना व्यवस्थापन गरेको छ। यससँगै मन्त्रालयका सचिव डा. विकास देवकोटाको कार्यकक्ष पनि सोही भवनमा सारिएको छ। मन्त्रीको सचिवालय रहेको भवनकै माथिल्लो तलामा सचिवको नयाँ कार्यकक्ष व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सचिवसँगै सचिवालयअन्तर्गतका अन्य शाखा तथा महाशाखाहरूलाई पनि चरणबद्ध रूपमा सोही भवनमा स्थानान्तरण गर्ने काम जारी छ।
विगत एक वर्षदेखि विभिन्न स्थानबाट सञ्चालन हुँदै आएका मन्त्रालयका प्रशासनिक एकाइहरू एउटै भवनमा एकीकृत भएपछि आन्तरिक समन्वय, निर्णय प्रक्रिया तथा समग्र सेवा प्रवाह थप सहज, छिटो र प्रभावकारी हुने विश्वास मन्त्रालयले व्यक्त गरेको छ।