सर्वदलीय बैठकमा सरकारको अनुपस्थितिमाथि गगन थापाको प्रश्न- ‘यस्तो बेला प्रधानमन्त्री कहाँ छन् ?’

सर्वदलीय बैठकमा सरकारको अनुपस्थितिमाथि गगन थापाको प्रश्न- ‘यस्तो बेला प्रधानमन्त्री कहाँ छन् ?’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरी घटनाका विषयमा आयोजित सर्वदलीय बैठकमा सरकार र प्रधानमन्त्रीको अनुपस्थितिप्रति प्रश्न उठाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकमा सहभागी हुँदै थापाले संवेदनशील परिस्थितिमा सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। उनले बैठक आयोजना गरी साझा पहलको वातावरण बनाएको भन्दै सभापति लामिछानेलाई धन्यवाद पनि व्यक्त गरे।

थापाले वर्तमान परिस्थितिमा सरकारको सक्रियता नदेखिएको टिप्पणी गर्दै भने, ‘यतिखेर सरकार के गर्दैछ ? सरकार कहाँ छ ? सरकार त स्टाटसमा मात्रै सीमित देखिएको छ। सरकारले सबै पक्षलाई विश्वासमा लिनुपर्छ।’

उनले यस्तो अवस्थामा प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाउने, राष्ट्रपतिसँग छलफल गर्ने तथा प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर साझा प्रयास अघि बढाउनुपर्ने बताए।

‘विगतका प्राकृतिक विपद् र राष्ट्रिय संकटका बेला राजनीतिक दलहरूले मतभेद बिर्सेर एकताबद्ध रूपमा काम गरेका थिए। अहिले पनि त्यही अभ्यास आवश्यक छ,’ उनले भने।

थापाले सुनसरीको घटनालाई राज्य संयन्त्रको कमजोरीको परिणाम भएको टिप्पणी गर्दै नेपाली कांग्रेसले घटनाबारे पार्टीभित्र पनि समीक्षा गर्ने, तर सरकारलाई अप्ठ्यारो पार्ने उद्देश्य नराख्ने स्पष्ट पारे। प्रधानमन्त्रीप्रति संकेत गर्दै उनले भने, ‘यस्तो बेला पनि प्रधानमन्त्री भाउ खाएर बस्ने, ठालू बनेर बस्ने ? अहिले आवश्यक भनेको सकारात्मक रूपमा नेतृत्व गर्ने हो।’

उनले कांग्रेसका जनप्रतिनिधि र नेताहरूलाई पनि प्रभावित क्षेत्रमा छलफल र संवादमार्फत समस्या समाधानका लागि सक्रिय हुन निर्देशन दिइएको जानकारी दिए। सुनसरीसहित प्रभावित जिल्लामा यस्ता घटना दोहोरिन नदिन कांग्रेसले रचनात्मक भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।

रास्वपा सभापति रवि लामिछानेले बोलाएको उक्त सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुदन गुरुङ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सहभागी भएका थिएनन्।