

एजेन्सी । जापानमा आयोजना हुने ओलम्पिक खेलकुदका लागि महिला फुटबल अन्तर्गत एसियन छनोटको पहिलो खेलमा नेपाल बराबरीमा रोकिएको छ ।
म्यानमारमा आज भएको पहिलो खेलमा नेपालले भारतसंग १, १ गोलको बराबरी खेल्दै अंक बाडेको हो । याङगोनस्थित थुवुन्ना स्टेडियममा जित निकाल्ने लक्ष्य सहित मैदान उत्रिएको नेपाल सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो । खेलको ११ औं मिनेटमा नेपालले कप्तान निरु थापाको गोलबाट अग्रता बनाएको थियो । तर, खेलको ३७ औं मिनेटमा कमजोर डिफेन्सको फाइदा उठाउदै भारतले बराबरी गोल फर्काउनुभएको थियो । भारतका लागि कमला देवीले गोल गर्दै भारतलाई खेलमा फर्काउनुभएको थियो ।
त्यसपछि खेलको दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् र खेल १, १ गोलको बराबरीमा सकिएको थियो । बराबरीसंगै समूह सी मा रहेको नेपाल र भारतले एक एक अंक जोडेका छन् । महिला फुटबलमा भारतविरुद्ध नेपालको यो दोस्रो बराबरी हो । नेपालले अहिलेसम्म भारतलाई हराउन सकेको छैन । नेपालले यसअघि भारतसंगको आठ खेलमध्ये १ खेलमा बराबरी र ७ खेलमा पराजय व्यहोरेको छ । नेपालले अब दोस्रो खेलमा आइतबार घरेलु टोली म्यानमारसँग खेल्नेछ । अन्तिम खेल २७ गते बंगलादेशसँग खेल्नेछ ।