

काठमाडौं । सरकार र अनशनरत डा. गोविन्द केसी पक्षबीच आइतबार भएको वार्ता सकारात्मक दिशातर्फ अघि बढेको छ। दुवै पक्ष अधिकांश मागमा सहमतिनजिक पुगेका छन् भने बाँकी विषयमा आज पुनः छलफल हुने भएको छ।
वार्तामा विशेषगरी सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा) का रजिस्ट्रारलाई हटाउने विषयमा सहमति जुट्ने चरणमा पुगेको जनाइएको छ। साथै, विश्वविद्यालयको ऐन संशोधन नभएसम्म उपकुलपति डा. सुनिलकुमार जोशीलाई यथावत् राख्ने विकल्पबारे पनि छलफल भइरहेको छ।
डा. केसी पक्षका वार्ता टोली सदस्य डा. अमृत जैसीका अनुसार अधिकांश मागमा सकारात्मक प्रगति भएको छ। बाँकी विषय टुंग्याउन आज बिहान १० बजे पुनः वार्ता बस्ने तय भएको उनले बताए।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रका विभिन्न सुधारका माग राख्दै डा. केसी साउन ७ गतेदेखि कैलालीको धनगढीमा अनशनरत छन्। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि साउन ९ गतेदेखि उनलाई सेती प्रादेशिक अस्पतालमा चिकित्सकको निगरानीमा राखेर उपचार तथा स्वास्थ्य परीक्षण भइरहेको छ।