समय साँच्चिकै बलवान रहेछ

समय साँच्चिकै बलवान रहेछ

-मालिका केशरी-

समय साँच्चिकै बलवान रहेछ
उसले केवल दिन र रात फेर्दैन,
मानिसको मन फेरिदिन्छ,
शरीरको बनावट फेरिदिन्छ,
समाजको चेतना,
संवेदना
र आत्मासमेत फेरिदिन्छ।
हिजो,
अपहरणमा परेकी नारीलाई बचाउन
रामहरू वनवन भौँतारिन्थे,
युद्ध गर्थे,
जीवनसमेत दाउमा राख्थे।
आज,
यहाँ कुनै राम छैनन्।

हिजो,
सभाको बीचमा अपमानित द्रौपदीको
लाज जोगाउन तयार कृष्ण थिए ।
आज,
कृष्ण मौन छन्,
द्रौपदीहरू
हरेक दिन
चीरहरण परिरहन्छन् ।
न त अब
बम्बईका कोठीमा बेचिएकी चेलीको
दुःख गाउने गाइने दाइ बाँकी छन्,
न त उनका गीत सुनेर
भक्कानिँदै आँसु बगाउने
आमा र हजुरआमाहरू बाँकी छन्र ।
गाइने दाइको सारङ्गी चुप छ,
तर चेलीहरूको चित्कार
अझै रोकिएको छैन ।
फरक यति मात्र हो,
हिजो पीडा गीत बन्थ्यो,
आज पीडा भिडियो बनेको छ ।
हिजो
चेलीको आँसु देखेर
मानिस रोइरहेका हुन्थे ।
आज
अस्मिता लुटिएको भिडियो,
मृत्युसँग जुधिरहेको शरीर,
अन्तिम सासमा निस्किएको चित्कार
सामाजिक सञ्जालमा
टुक्राटुक्रा पारेर फैलाइन्छ।
अनि कसैले
त्यही चित्कारको मूल्यमा
लाइक गन्छ,
कमेन्ट गन्छ,
भ्यु गन्छ
र आफ्नो लोकप्रियता बढाउँछ।
चेली मरिरहेकी हुन्छे,
तर क्यामेरा चलिरहन्छ।
उसको शरीर छटपटाइरहेको हुन्छ,
तर औँलाहरू
‘सेयर’ गर्ने हतारमा हुन्छन्।
खै कुन सभ्यताले
मृत्युलाई दृश्य बनायो
र चित्कारलाई सामग्री?
खै किन
उसले रामलाई कथामा थन्क्यायो,
कृष्णलाई मूर्तिभित्र कैद गर्‍यो,
गाइने दाइको सारङ्गी चुँडायो
र मानिसको संवेदनालाई
मोबाइलको पर्दाभित्र गाडिदियो ।
अब चेलीको चित्कार सुनिदैन
बचाऊको पुकार रहँदैन,
केवल एउटा भाइरल भिडियो बन्छ ।
र उसको लुटिएको अस्मिता
केही क्षणका लागि
संसारको मनोरञ्जन बन्छ ।
समय साँच्चिकै बलवान रहेछ ।