एमबीएस प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा केही व्यक्ति पक्राउ, छानबिन समिति गठन

एमबीएस प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा केही व्यक्ति पक्राउ, छानबिन समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार प्रश्नपत्र बाहिरिएको सूचना आएलगत्तै शिक्षामन्त्री सस्मित पोखरेलले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग छलफल गर्दै तत्काल अनुसन्धान अघि बढाउन निर्देशन दिएका थिए। त्यसपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आरोपितहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो।

प्रहरीका अनुसार एमबीएसको ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको करिब पाँच मिनेटमै ‘MBS First Sem Section C’ नामक ह्वाट्सएप समूहमा प्रश्नपत्र सार्वजनिक गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रश्नपत्र बाहिरिएको घटनापछि त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायको डिन कार्यालयले साइबर ब्युरोसँग अनुसन्धानका लागि पत्राचार गरेको थियो। साथै, परीक्षा नियन्त्रण महाशाखाले प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

समितिमा सहप्राध्यापक डा. पुष्कर रैखला र सहप्राध्यापक डा. महेशराज ओझा सदस्य रहेका छन्। समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी सात कार्यदिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।