नेपालमा १२ लाख विदेशी पर्यटक, भारत पहिलो स्रोत बजार

नेपालमा १२ लाख विदेशी पर्यटक, भारत पहिलो स्रोत बजार

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार भारत सबैभन्दा ठूलो स्रोत बजार बनेको छ भने अमेरिका र चीन क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

बोर्डको तथ्यांकअनुसार भारतबाट ३ लाख ११ हजार ५३१, अमेरिकाबाट १ लाख ११ हजार ३२५ र चीनबाट १ लाख ९ हजार ८९२ पर्यटक नेपाल आएका छन्। त्यसपछि बंगलादेश, बेलायत, अष्ट्रेलिया, श्रीलंका, भुटान, म्यानमार, जर्मनी, थाइल्यान्ड, जापान र मलेसियाबाट उल्लेख्य संख्यामा पर्यटक नेपाल आएका छन्।

पर्यटक आगमनका हिसाबले कात्तिक सबैभन्दा व्यस्त महिना बनेको छ। उक्त महिनामा १ लाख २४ हजार ८२९ विदेशी पर्यटक नेपाल भित्रिएका थिए। चैत, फागुन र असोजमा पनि एक लाखभन्दा बढी पर्यटक आगमन भएको बोर्डले जनाएको छ।

नेपाल पर्यटन बोर्डले भारत र चीनजस्ता प्रमुख बजारमा लक्षित प्रवर्द्धनात्मक अभियान, अन्तर्राष्ट्रिय पर्यटन मेलामा सहभागिता तथा सीमावर्ती क्षेत्रमा सञ्चालन गरिएका पर्यटन कार्यक्रमले पर्यटक आगमन बढाउन महत्वपूर्ण भूमिका खेलेको जनाएको छ।

बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले अन्तर्राष्ट्रिय प्रवर्द्धन, हवाई पहुँच विस्तार र निजी क्षेत्रसँगको सहकार्यका कारण नेपालको पर्यटन क्षेत्र पुनरुत्थानबाट दिगो वृद्धितर्फ उन्मुख भएको बताए। उनले आगामी दिनमा चीन, अमेरिका, अष्ट्रेलिया र बंगलादेशजस्ता उच्च सम्भावना भएका बजारमा प्रवर्द्धन अझ प्रभावकारी बनाइने तथा सरकारले घोषणा गरेको आरोग्य पर्यटन वर्ष २०२७ ले पनि पर्यटक आगमन थप बढ्ने अपेक्षा व्यक्त गरे।