

काठमाडौं । फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गरेर चर्चामा आएका केप भर्डका अनुभवी गोलकिपर भोजिन्हा चिलीको शीर्ष डिभिजन क्लब कोलो कोलोमा आबद्ध हुने भएका छन्।
४० वर्षीय भोजिन्हाले पोर्चुगलको दोस्रो डिभिजन क्लब चाभेससँगको सम्झौता सकिएपछि कुनै क्लबविनै विश्वकप खेलेका थिए। तर, प्रतियोगितामा विशेषगरी स्पेनविरुद्धको गोलरहित बराबरीमा उत्कृष्ट गोलकिपिङ प्रदर्शन गरेपछि उनी विश्व फुटबलमा चर्चाको केन्द्र बने।
कोलो कोलोका अध्यक्ष अनिबाल मोसाले भोजिन्हासँग सम्झौता हुन लागेको पुष्टि गर्दै केही दिनभित्र उनी चिली पुगेर स्वास्थ्य परीक्षणपछि औपचारिक रूपमा सार्वजनिक गरिने जानकारी दिएका छन्। उनले भोजिन्हाको आगमनले टोलीको प्रदर्शनसँगै क्लबको अन्तर्राष्ट्रिय पहिचान र बजार प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
विश्वकपमा स्पेनविरुद्ध केप भर्डलाई पहिलो ऐतिहासिक अंक दिलाएपछि भोजिन्हा समर्थकमाझ ‘कल्ट हिरो’ बनेका थिए। त्यसपछि सामाजिक सञ्जालमा पनि उनका लाखौँ नयाँ समर्थक थपिएका छन्। यद्यपि, कोलो कोलोसँगको स्थानान्तरण प्रक्रिया औपचारिक रूपमा अझै पूरा हुन बाँकी रहेको क्लबले जनाएको छ।