

काठमाडौं । भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्। राष्ट्रिय मेडिकल प्रवेश परीक्षाको प्रश्नपत्र चुहावट (पेपर लिक) प्रकरणलाई लिएर उनीमाथि बढ्दो राजनीतिक दबाबपछि उनले राजीनामा दिएका हुन्।
दिल्लीको जन्तर-मन्तरमा करिब एक महिनादेखि कक्रोच जनता पार्टी (सीजेपी) सहित विभिन्न समूहले शिक्षामन्त्री प्रधानको राजीनामा माग गर्दै प्रदर्शन गरिरहेका थिए। पेपर लिक प्रकरणलाई लिएर भारतका विभिन्न राज्यहरूमा पनि विरोध प्रदर्शन जारी थियो।
प्रधानले सामाजिक सञ्जाल एक्स मार्फत आफ्नो राजीनामाबारे जानकारी दिँदै देशको एकता, विद्यार्थीहरूको भविष्य र शैक्षिक वातावरणलाई प्राथमिकता दिएको बताएका छन्।
उनले लेखेका छन्, “जन्तर-मन्तर र देशभर सिर्जना भएको वर्तमान परिस्थितिको फाइदा राष्ट्रविरोधी शक्तिहरूले नउठाऊन्, देशको एकता कायम रहोस्, भारतका एक जना पनि विद्यार्थीको भविष्य कानुनी जटिलतामा नफसोस्, विद्यार्थीहरूले आफ्नो समय अध्ययनमा लगाऊन् र करियर निर्माणमा केन्द्रित होऊन् भन्ने उद्देश्यले मैले सम्माननीय प्रधानमन्त्रीसमक्ष आफ्नो राजीनामा पेश गरेको छु।”
यसअघि भारतीय राष्ट्रिय कांग्रेससहितका विपक्षी दलहरूले पनि निट पेपर लिक प्रकरणको नैतिक जिम्मेवारी लिँदै शिक्षामन्त्री प्रधानले पदबाट राजीनामा दिनुपर्ने माग गर्दै आएका थिए।