

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जनाएको छ। विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ तथा पूर्वी भूभागमा सरदर स्थानको आसपास रहेकाले अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज दिउँसो हिमाली र पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि बदली रहनेछ भने मधेश र कोशी प्रदेशको तराईमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ।
महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। साथै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्नेछ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान, कोशी र मधेशका तराईका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ।
महाशाखाले विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली, बागमती तथा कोशी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै ती क्षेत्रमा बाढी, पहिरो, भूक्षय तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने जनाएको छ।
विभागले सम्भावित विपद्बाट सुरक्षित रहन, नदी तटीय तथा पहिरो जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन तथा कृषि, सडक, हवाई यातायात, पर्यटन र पर्वतारोहण क्षेत्रमा आवश्यक सावधानी अपनाई विभागका पछिल्ला मौसम बुलेटिन नियमित रूपमा अवलोकन गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।