बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा

बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा

काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहावुद्दिनले गम्भीर स्वास्थ्य समस्याका कारण शुक्रबार पदबाट राजीनामा दिएका छन्। राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत उनको राजीनामाको पुष्टि गरेको हो।

७६ वर्षीय शाहावुद्दिनले अप्रिल २०२३ देखि राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आएका थिए। उनको कार्यकालमा सन् २०२४ मा विद्यार्थी नेतृत्वको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाडेर भारत गएसँगै बंगलादेशमा उत्पन्न राजनीतिक उथलपुथलको अवस्था पनि परेको थियो।

राष्ट्रपतिका प्रेस सचिवद्वारा जारी विज्ञप्तिअनुसार शाहावुद्दिनलाई हालै गरिएको स्वास्थ्य परीक्षणबाट ‘अटोनोमिक न्युरोप्याथी’ नामक रोग लागेको पुष्टि भएको छ। उक्त रोगका कारण आफू कहिलेकाहीँ केही समयका लागि चेतनाहीन हुने अवस्था आउने भएकाले पदमा निरन्तर रहन असमर्थ भएको उनले उल्लेख गरेका छन्।

शाहावुद्दिनको राजीनामासँगै पूर्वप्रधानमन्त्री शेख हसिनाको स्वदेश फर्किने सम्भावित समयभन्दा केही महिना अगावै उच्च सरकारी तहमा उनका निकट सहयोगीको उपस्थिति समाप्त भएको विश्लेषण गरिएको छ।

विद्यार्थी आन्दोलनपछि आवामी लिगमाथि प्रतिबन्ध लगाइएको छ भने पार्टीका धेरै नेता तथा कार्यकर्ता जेलमा रहेका वा भूमिगत भएका छन्।

राष्ट्रपतिको कार्यालयका अनुसार नयाँ राष्ट्रपति निर्वाचित नभएसम्म बंगलादेशका सभामुखले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नेछन्।