धनुषामा हवाई फायरपछि दुई भारतीय लागुऔषध कारोबारी पक्राउ

धनुषामा हवाई फायरपछि दुई भारतीय लागुऔषध कारोबारी पक्राउ

जनकपुरधाम । धनुषा प्रहरीले एक राउन्ड हवाई फायर गरेर दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।

शुक्रबार साउन ८ गते दिउँसो मिथिला नगरपालिका–६ ढल्केबर क्षेत्रमा प्रहरीको टोलीले पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

पक्राउ पर्नेमा भारतका २८ वर्षीय सन्तोषकुमार महतो र ४५ वर्षीय मिथिलेश साहु रहेका छन्।

प्रहरीका अनुसार ढल्केबरबाट जनकपुरतर्फ जाँदै गरेका उनीहरूले प्रहरी देख्नासाथ भाग्ने प्रयास गरेका थिए। त्यसपछि प्रहरीले एक राउन्ड हवाई फायर गरी दुवैलाई नियन्त्रणमा लिएको हो।

उनीहरूको साथबाट ९५ ग्राम ५९० मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।