जरिवाना होइन, सचेतनाबाट सवारी नियम पालना होस् : आईजीपी कार्की

जरिवाना होइन, सचेतनाबाट सवारी नियम पालना होस् : आईजीपी कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सवारी नियम उल्लंघनका कारण कारबाही वा जरिवाना गर्ने अवस्था नै नआओस् भन्ने नेपाल प्रहरीको चाहना रहेको बताएका छन्।

मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सवका अवसरमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै आईजीपी कार्कीले सडक सुरक्षा सुनिश्चित गर्न ट्राफिक प्रहरी मात्र नभई स्थानीय तह, सरोकारवाला निकाय र आम नागरिकको समान जिम्मेवारी रहेको बताए।

उनले सडक पूर्वाधार, जनचेतना अभिवृद्धि तथा पाठ्यक्रम सुधारजस्ता विषयमा स्थानीय तह र नागरिक स्वयं सक्रिय हुनुपर्नेमा जोड दिँदै नियम पालनाको संस्कार विकास भए कारबाही र जरिवानाको आवश्यकता नै नपर्ने उल्लेख गरे।

आईजीपी कार्कीले सडकका दायाँ–बायाँ आवश्यक ‘रोड फर्निचर’, सूचना बोर्ड, जेब्रा क्रसिङलगायतका भौतिक पूर्वाधार निर्माण गर्ने जिम्मेवारी ट्राफिक प्रहरीको रहेको भन्ने आम बुझाइ सही नभएको स्पष्ट पारे। ट्राफिक प्रहरीसँग यस्ता संरचना निर्माण गर्ने न बजेट छ, न अधिकार नै रहेको उनको भनाइ थियो।

उनले कसैलाई जरिवाना वा सजाय गर्नु ट्राफिक प्रहरीका लागि उद्देश्य नभएको उल्लेख गर्दै सडक सुरक्षाका लागि कानुन कार्यान्वयनमा भने कडाइ गर्नुपर्ने बाध्यता रहेको बताए।

आईजीपी कार्कीले आगामी दिनमा सडक सुरक्षा र ट्राफिक सचेतनासम्बन्धी कार्यक्रमलाई अझ प्रभावकारी, प्रविधिमैत्री, गुणस्तरीय र नागरिकमैत्री बनाउन निर्देशनसमेत दिएका छन्।

कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले मेट्रो ट्राफिक एफएमले सडक दुर्घटना न्यूनीकरण तथा नागरिकको जीउधनको सुरक्षा प्रवर्द्धनका लागि ट्राफिक अवस्था, मौसम र हवाई सेवासम्बन्धी नियमित ‘ट्राफिक अपडेट’ प्रसारण गर्दै महत्वपूर्ण भूमिका खेलिरहेको बताए।