

काठमाडौं, २२ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वत्को अवसरमा शुभकामना सन्देश दिनुभएको छ । यसैअवसरमा प्रधानमन्त्री ओलीले नेपाल सम्वतका प्रवर्तक तथा राष्ट्रिय विभूति शंखधर शाख्वा न्याय र समानताका अभियन्ता भएको उल्लेख गर्नुभएको छ ।
नेपाल संवतको नयाँ वर्ष ११३९ का अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले शाख्वा कै योगदानका कारण नेपालको मौलिक संवत् नेपाल संवत् प्रचलनमा आएको उल्लेख गर्नुभयो । शाख्वाको योगदान आज पनि नेपाली समाजमा उत्तिकै सान्दर्भिक रहेको प्रधानमन्त्री ओलीको शुभकामनामा उल्लेख गरिएको छ ।
शंखधर शाख्वाले ऋणमा डुबेर दासत्व जीवन बिताइरहेका सर्वसाधरणलाई ऋणबाट मुक्त गराएर स्वतन्त्रता दिलाएकै कारण उहाँ शताब्दीऔं पछि पनि नेपालीको मानसपटलमा बस्न सफल भएको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ । “काठमाडौं उपत्यकामा समाज सुधारका लागि आफूलाई समर्पित गर्ने, नेपाल संवतका प्रवर्तक, समाज सुधारक तथा प्रगतिशिल व्यक्तित्व शंखधर साख्वाको विशेष स्मरण गर्न चाहेको पनि प्रधानमन्त्रीले आफ्नो शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।