अमेरिकी युद्धविराम प्रस्ताव इरानद्वारा अस्वीकार

अमेरिकी युद्धविराम प्रस्ताव इरानद्वारा अस्वीकार

काठमाडौं । इरानले अमेरिकाले अघि सारेको युद्धविराम प्रस्ताव अस्वीकार गरेको जनाएको छ। अमेरिकी सञ्चारमाध्यम द न्युयोर्क टाइम्स ले इरानी र इराकी अधिकारीहरूलाई उद्धृत गर्दै तेहरानले होर्मुज जलमार्गसम्बन्धी विवाद समाधान नगरी कुनै अस्थायी युद्धविराम स्वीकार नगर्ने स्पष्ट पारेको जनाएको हो।

सीएनएनका अनुसार इराकका प्रधानमन्त्री अली अल–जाइदीले तेहरान पुगेर इरानी नेतृत्वसमक्ष अमेरिकी प्रस्ताव प्रस्तुत गरेका थिए। प्रस्तावका सबै विवरण सार्वजनिक नगरिए पनि इरानी पक्षले होर्मुज जलमार्गमाथिको नियन्त्रणको विषय समाधान नभएसम्म युद्धविराममा रुचि नरहेको बताएको छ। यसबारे प्रतिक्रिया लिन सीएनएनले ह्वाइट हाउससँग सम्पर्क गरेको जनाएको छ।

अमेरिका र इरानबीच करिब दुई सातादेखि जारी सैन्य तनावका बीच यो घटनाक्रम सार्वजनिक भएको हो। यस अवधिमा इरानले अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भए पनि होर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने जहाजहरूमाथि आक्रमण जारी राखेको तथा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य लक्ष्यलाई पनि निशाना बनाइरहेको बताइएको छ।

यता अमेरिकाले इरानका विभिन्न सैन्य अड्डा र पूर्वाधारमाथि हवाई आक्रमणलाई तीव्र बनाएको छ।

गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भेटवार्ता गरेका इराकका प्रधानमन्त्री अली अल–जाइदी बिहीबार तेहरान पुगेका थिए। भ्रमणअघि इरानी विदेशमन्त्री अब्बास अराघचीले अल–जाइदीले ट्रम्पको सन्देश लिएर आउन सक्ने संकेत गरे पनि इरानले अमेरिकासँग नयाँ मध्यस्थताको आवश्यकता नरहेको स्पष्ट पारे।

इरानको सरकारी प्रसारण संस्था आईआरआईबीसँग कुरा गर्दै विदेशमन्त्री अराघचीले अमेरिका नै तनावको मुख्य कारण रहेको आरोप लगाए। उनले भने, “मुख्य अवरोध अमेरिकाको अविवेकी, अत्यधिक हस्तक्षेपकारी र प्रभुत्ववादी नीति हो।”

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरान अहिले कुनै सम्झौताका लागि तयार नरहेको र इरानी नेतृत्वको मनसायप्रति गम्भीर आशंका रहेको टिप्पणी गरेका छन्।