

काठमाडौं । अघिल्लो कारोबार दिन १३.९५ अंकले घटेको सेयर बजार बिहीबार भने पुनः सुधारिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.१७ अंकले बढ्दै २७२६.७१ विन्दुमा पुगेको हो। कारोबार अवधिभर यही स्तर दिनकै उच्च बिन्दुका रूपमा कायम रह्यो।
बजार खुलेपछि केही समय दबाबमा परेको नेप्से दिउँसो १२:२३ बजे २६८९ अंकसम्म झरेको थियो। त्यसपछि खरिदकर्ता सक्रिय भएसँगै बजारमा सुधार आउँदा अन्ततः परिसूचक सकारात्मक हुँदै बन्द भएको हो।
बिहीबार १४९ कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ कम्पनीको घटेको छ। १२ कम्पनीको मूल्य भने स्थिर रहेको छ। यद्यपि बजार बढे पनि कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ५ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ४ अर्ब ६७ करोड रुपैयाँमा सीमित भएको छ।
समूहगत सूचकतर्फ अधिकांश उपसमूह हरियाली देखिए। व्यापार समूह सबैभन्दा धेरै २.५८ प्रतिशतले बढ्दा जलविद्युत् १.१२ प्रतिशत, होटल तथा पर्यटन ०.९९ प्रतिशत, विकास बैंक ०.७४ प्रतिशत, निर्जीवन बीमा ०.६४ प्रतिशत, बैंकिङ ०.३८ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.३१ प्रतिशत, जीवन बीमा ०.२९ प्रतिशत, फाइनान्स ०.२७ प्रतिशत तथा माइक्रोफाइनान्स ०.१३ प्रतिशतले उकालो लागे। अन्य समूह ०.०८ प्रतिशत र लगानी समूह ०.४२ प्रतिशतले घटेका छन्।
व्यक्तिगत कम्पनीतर्फ हालै सूचीकृत एभरेस्ट कलरको सेयर मूल्य लगातार दोस्रो दिन पनि १५ प्रतिशतले बढ्यो। स्नो रिभर्स १३.७१ प्रतिशत, एपोलो हाइड्रोपावर ९.२५ प्रतिशत, होटल फरेस्ट इन ७.५१ प्रतिशत तथा सोपान फर्मास्युटिकल्स ७.४७ प्रतिशतले उकालो लागेका छन्।
यता कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले घटेको छ। कम्पनीको संस्थापक, स्थानीय र कर्मचारी समूहको गरी १२ लाख ९ हजार १६९ कित्ता सेयरको लकइन अवधि बुधबारदेखि सकिएकाले त्यसको प्रभाव मूल्यमा परेको हो।
त्यस्तै बुंगल हाइड्रोपावरको सेयर मूल्य ९.९३ प्रतिशत र रिलायन्स स्पिनिङ मिल्सको ४.४८ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा बिहीबार रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत्, रिडी पावर, सोलु हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर सबैभन्दा बढी कारोबार हुने कम्पनी बने।