लिग-२ मा आज नेपाल र नेदरल्यान्ड्स भिड्दै, पुनरागमनको लक्ष्यमा नेपाली टोली

लिग-२ मा आज नेपाल र नेदरल्यान्ड्स भिड्दै, पुनरागमनको लक्ष्यमा नेपाली टोली

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले आज घरेलु टोली नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपाल दोस्रो खेलमा जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछ।

नेपाल र नेदरल्यान्ड्सबीचको खेल नेपाली समयअनुसार आज दिउँसो २:४५ बजे नेदरल्यान्ड्सको उट्रेख्तस्थित मैदानमा सुरु हुनेछ।

नेपालले शृंखलाको पहिलो खेलमा नामिबियासँग ८ विकेटको हार बेहोरेको थियो। त्यसैले आजको खेल नेपाली टोलीका लागि निकै महत्वपूर्ण मानिएको छ। लिग–२ को शीर्ष चारको दौडलाई जीवित राख्न नेपाललाई जितको खाँचो छ।

हालसम्म लिग–२ मा नेपालले २९ खेलबाट २४ अंक जोड्दै अंकतालिकाको पाँचौँ स्थानमा रहेको छ। समान २९ खेल खेलेको नामिबियाको पनि २४ अंक भए पनि नेट रनरेटका आधारमा ऊ छैटौँ स्थानमा छ।

नेदरल्यान्ड्स भने २८ खेलबाट ३२ अंकसहित तेस्रो स्थानमा छ। शीर्ष स्थानमा अमेरिका ४३ अंकसहित रहेको छ भने स्कटल्यान्ड ३८ अंकका साथ दोस्रो स्थानमा छ। ओमान ३१ अंकसहित चौथो स्थानमा रहँदा क्यानडा २४ अंकका साथ सातौँ र यूएई १४ अंकसहित पुछारमा छन्।

नेपालले यस शृंखलामा जुलाई २७ मा पुनः नामिबियासँग तथा जुलाई २९ मा फेरि नेदरल्यान्ड्ससँग खेल्ने तालिका रहेको छ। शीर्ष चारमा स्थान बनाउन नेपालले बाँकी खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै महत्त्वपूर्ण अंक बटुल्नुपर्ने अवस्था छ।

आजको खेलमा नेपाली टोलीबाट ब्याटिङ र बलिङ दुवै विभागमा सुधारिएको प्रदर्शनको अपेक्षा गरिएको छ। पहिलो खेलको हार बिर्सँदै जितसहित आत्मविश्वास फर्काउने लक्ष्यमा नेपाल मैदान उत्रिनेछ।