शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौं। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले मंगलबार शिष्टाचार भेटवार्ता गरेका छन्।

सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिकाबीचको दीर्घकालीन कूटनीतिक सम्बन्ध, साझा हित तथा शिक्षा र खेलकुद क्षेत्रका द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटमा अमेरिकी सरकारबाट नेपालको शिक्षा क्षेत्रमा हुँदै आएको सहयोगलाई अझ प्रभावकारी बनाउने, प्राविधिक तथा व्यावसायिक शिक्षा, सीपमूलक शिक्षाको प्रवर्द्धन तथा खेलकुद क्षेत्रका सम्भावित सहकार्यका विषयमा पनि विचार आदान–प्रदान भएको थियो।

अमेरिकाले अमेरिकी सहयोग नियोग (USAID) मार्फत प्रारम्भिक कक्षा पठन–पाठन सुधार कार्यक्रम (Early Grade Reading and Learning) लगायत विभिन्न शैक्षिक कार्यक्रम तथा उच्च शिक्षाका क्षेत्रमा लामो समयदेखि सहयोग गर्दै आएको छ।

भेटका क्रममा मन्त्री पोखरेलले नेपाल र अमेरिकाबीचको ऐतिहासिक, मैत्रीपूर्ण र विश्वासमा आधारित सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै सरकारले शिक्षा क्षेत्रमा विभिन्न सुधारका कार्यक्रम अघि बढाइरहेको जानकारी दिए।

उनले राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन भइरहेको उल्लेख गर्दै विद्यालय शिक्षालाई सैद्धान्तिकभन्दा बढी व्यवहारिक, सीपमूलक र जीवनोपयोगी बनाउने दिशामा मन्त्रालय काम गरिरहेको बताए।

मन्त्री पोखरेलले विद्यालय तहदेखि नै खेलकुदलाई पाठ्यक्रममा समावेश गर्ने गरी पाठ्यक्रम परिमार्जनको प्रक्रिया अघि बढाइएको जानकारी पनि दिए।

यस्तै, विद्यालयहरूको भौतिक पूर्वाधार मूल्याङ्कन भइरहेको र त्यसका आधारमा आवश्यकताअनुसार बजेट विनियोजन गरिने उल्लेख गर्दै भौतिक पूर्वाधार विकास, शैक्षिक सुविधा विस्तार तथा शिक्षक तालिमलाई सरकारले प्राथमिकतामा राखेको बताए।

उनले सुरक्षित विद्यालय पूर्वाधार, डिजिटल तथा स्मार्ट लर्निङ, शिक्षकको पेसागत क्षमता विकास र विद्यालय स्वास्थ्य तथा पोषणका क्षेत्रमा अमेरिकी सरकारसँग थप सहकार्य गर्न सकिने धारणा राखे।

कार्यवाहक राजदूत अर्बमले नेपालको शिक्षा तथा खेलकुद क्षेत्रको विकासका लागि द्विपक्षीय सहकार्य विस्तार गर्न अमेरिका सकारात्मक रहेको बताउँदै नेपाल सरकारले अघि बढाएका शिक्षा सुधारका कार्यक्रमबारे आफूहरू जानकार रहेको र आवश्यक सहयोग गर्न सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गरे।

उनले सार्वजनिक विद्यालय शिक्षा सुधारका लागि नेपाल सरकारले थालेका प्रयासमा अमेरिकी सरकारको निरन्तर सहयोग रहने विश्वाससमेत व्यक्त गरेका छन्।