काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका नेता तथा सांसदहरूलाई कुनै पनि जिल्ला वा निर्वाचन क्षेत्रमा जाँदा सम्बन्धित पार्टी संयन्त्रसँग अनिवार्य रूपमा समन्वय गर्न निर्देशन दिएको छ।
मंगलबार पार्टीका महामन्त्री विपिनकुमार आचार्यले पाँचबुँदे निर्देशन जारी गर्दै पार्टीले अघि सारेको सुशासन, जवाफदेहिता र नागरिक–केन्द्रित राजनीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न संघीय संसद् र स्थानीय तहका नागरिकबीच जीवन्त संवाद आवश्यक रहेको उल्लेख गरेका छन्।
निर्देशनमा निर्वाचन क्षेत्र तथा जिल्लाको भ्रमणलाई केवल औपचारिकता वा व्यक्तिगत जनसम्पर्कमा सीमित नराखी पार्टीको राजनीतिक दृष्टिकोण विस्तार गर्ने, संगठनलाई सुदृढ बनाउने तथा जनताका आवाजलाई संसदीय एजेन्डामा रूपान्तरण गर्ने रणनीतिक अभियानका रूपमा सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ।
रास्वपाले सांसदहरूको प्रभावकारी भूमिका र पार्टी संगठनको सक्रियतालाई एकअर्काका पूरकका रूपमा व्याख्या गर्दै दुवैबीच सुदृढ समन्वय र व्यवस्थित कार्यशैली आवश्यक रहेको जनाएको छ।
पार्टीले यस्तो समन्वयात्मक प्रयासबाट संगठनात्मक परिपक्वता थप मजबुत हुने र जनताप्रतिको जवाफदेहिता अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरेको छ।