

काठमाडौं । फिफा विश्वकप-२०२६ अन्तर्गत तेस्रो स्थानका लागि भएको रोमाञ्चक प्रतिस्पर्धामा इंग्ल्यान्डले फ्रान्सलाई ६-४ ले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ। अमेरिकाको मियामी स्टेडियममा सम्पन्न खेलमा इंग्ल्यान्डले पहिलो हाफमै ४-० को सशक्त अग्रता बनाएको थियो। दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट पुनरागमनको प्रयास गर्दै चार गोल फर्काए पनि इंग्ल्यान्डले थप दुई गोल गर्दै प्रभावशाली जित निकाल्यो।
इंग्ल्यान्डका लागि बुकायो शाकाले ह्याट्रिक पूरा गरे। उनले पहिलो हाफमा दुई गोल गरेपछि ८७औँ मिनेटमा पेनाल्टीमार्फत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्।
इंग्ल्यान्डले खेलको तेस्रो मिनेटमै डेक्लान राइसको गोलबाट अग्रता लिएको थियो। १८औँ मिनेटमा एजब्री कोन्शाले हेडमार्फत दोस्रो गोल गरे। त्यसपछि शाकाले ३७औँ मिनेट र पहिलो हाफको इन्जुरी समयमा लगातार दुई गोल गर्दै पहिलो हाफमै इंग्ल्यान्डलाई ४-० को बलियो अवस्थामा पुर्याए।
दोस्रो हाफमा भने फ्रान्सले आक्रामक खेल प्रदर्शन गर्यो। कप्तान किलियन एमबाप्पेले ४८औँ मिनेटमा पहिलो गोल फर्काए भने ब्राडली बारकोलाले ५४औँ मिनेटमा गोल गर्दै अन्तर घटाए। ६६औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल ४-३ को स्थितिमा पुगेको थियो।
तर ८७औँ मिनेटमा शाकाले पेनाल्टीमा गोल गर्दै इंग्ल्यान्डलाई फेरि दुई गोलको अग्रता दिलाए। इन्जुरी समयमा उस्मान डेम्बेलेले फ्रान्सका लागि चौथो गोल गरे पनि खेलको अन्तिम क्षणमा जुड बेलिङ्घमले गोल गर्दै इंग्ल्यान्डको ६-४ को जित सुनिश्चित गरे।
यस जितसँगै इंग्ल्यान्डले सन् १९६६ पछि विश्वकपमा आफ्नो उत्कृष्ट नतिजा हात पारेको छ। यसअघि सन् २०१८ मा इंग्ल्यान्ड चौथो स्थानमा सीमित भएको थियो। यता, फ्रान्सका कप्तान एमबाप्पेले दुई गोल थप्दै जारी विश्वकपमा आफ्नो गोल संख्या १० पुर्याएका छन्। यससँगै उनी प्रतियोगिताको ‘गोल्डेन बुट’ दौडमा अग्रस्थानमा पुगेका छन्। अर्जेन्टिनाका कप्तान लियोनल मेसीको नाममा हाल ८ गोल रहेको छ भने उनले स्पेनविरुद्धको फाइनल खेल खेल्न बाँकी छ।