३५ जिल्लामा बाढीको जोखिम, नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

३५ जिल्लामा बाढीको जोखिम, नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज आइतबार देशका विभिन्न जिल्लाका नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरसहित ३५ जिल्ला तथा आसपासका क्षेत्रमा बग्ने साना नदी र खोलाहरूमा पानीको बहाव बढ्ने सम्भावना रहेको छ। त्यसैले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।

महाशाखाका अनुसार झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, तेह्रथुम, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर, चितवन, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुर जिल्लाबाट बग्ने ससाना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने जोखिम रहेको छ।

महाशाखाले नदी किनार, खोल्सी तथा डुबान र कटानको जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन, अनावश्यक रूपमा नदी तर्न वा नदी किनारमा नजान तथा स्थानीय प्रशासन र सम्बन्धित निकायबाट जारी हुने सूचना तथा पूर्वचेतावनी नियमित रूपमा पालना गर्न आग्रह गरेको छ।