मनसुन थप सक्रिय : दुई दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह

मनसुन थप सक्रिय : दुई दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह

काठमाडौं । आज शनिबार र भोलि आइतबार मनसुन थप सक्रिय भई देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना देखिएपछि गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणका प्रवक्ता तथा उपसचिव शान्ति महतले जारी गरेको सूचनाअनुसार लगातारको वर्षाका कारण अचानक बाढी, पहिरो, गेग्रान बहाव, नदी कटान तथा सहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्ने भएकाले नागरिकदेखि सम्बन्धित सबै निकायलाई आवश्यक तयारी गर्न अनुरोध गरिएको छ।

प्राधिकरणले अत्यावश्यक कामबाहेक घरदेखि टाढा र विशेषगरी रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ। साथै, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा लगायत उच्च जोखिममा रहेका जिल्लामा रातिको समयमा सवारी आवागमन रोक्न तथा आवश्यकताअनुसार जुनसुकै बेला सडक बन्द गर्न निर्देशन दिएको छ।

प्राधिकरणले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय तह, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायलाई उद्धार तथा राहत कार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ। जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एक्साभेटर, लोडरलगायतका उपकरण पूर्वतयारी अवस्थामा राख्न पनि भनिएको छ।

जोखिमयुक्त बस्तीका बासिन्दालाई समयमै सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउन जिल्ला सुरक्षा समिति, स्थानीय तह र सुरक्षा निकायलाई आग्रह गरिएको छ। विशेषगरी खोला, खहरे, नदी किनार र पहिरोको उच्च जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई थप सतर्क रहन अनुरोध गरिएको छ।

प्राधिकरणले आपत्कालीन अवस्थाका लागि आवश्यक सम्पर्क नम्बर मोबाइलमा सुरक्षित राख्न पनि आग्रह गरेको छ। वर्षा र बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायता १२३४, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल १११४ नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ।

यसका साथै जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान, पूर्वसूचना र चेतावनी नियमित रूपमा पछ्याउन सबै नागरिकलाई अनुरोध गरिएको छ।