धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सत्ता गठबन्धन औपचारिक रूपमा टुटेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीलाई पदमुक्त गरेका छन्।
बुधबार मुख्यमन्त्री शाहले एमालेका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की, भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मलादेवी साउदलाई सरकारबाट बर्खास्त गरेका हुन्।
यससँगै सुदूरपश्चिम प्रदेशमा कांग्रेस–एमाले गठबन्धन पनि औपचारिक रूपमा समाप्त भएको छ।
मुख्यमन्त्री शाह बुधबार मात्रै बजेट विवाद समाधानका लागि शीर्ष नेताहरूसँग छलफल गरेर काठमाडौंबाट धनगढी फर्किएका थिए। तर आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गर्ने विषयमा एमालेसँग सहमति जुट्न नसकेपछि उनले एमालेका मन्त्रीहरूलाई सरकारबाट हटाउने निर्णय लिएका हुन्।
पछिल्ला केही दिनदेखि प्रदेश सरकारको बजेटलाई लिएर सत्ता साझेदार एमालेले नै खर्च कटौतीको प्रस्ताव दर्ता गर्दै बजेटको विरोध गरिरहेको थियो। बजेट विवाद समाधानका लागि भएका राजनीतिक प्रयास निष्कर्षमा पुग्न नसकेपछि अन्ततः गठबन्धन नै भंग भएको हो।
एमालेका मन्त्रीहरू बर्खास्त भएसँगै अब सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण र बजेट पारित प्रक्रियाले नयाँ राजनीतिक मोड लिएको छ। आगामी दिनमा सरकारको बहुमत, नयाँ गठबन्धनको सम्भावना तथा बजेट पारित हुने प्रक्रियाप्रति सबैको चासो केन्द्रित भएको छ।