

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाएको बताएका छन्। उनले होटल व्यवसायीहरूले लामो समयदेखि व्यक्त गर्दै आएका चिन्ता अब क्रमशः समाधान हुने विश्वास पनि व्यक्त गरे।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा होटल एसोसिएसन नेपाल (हान) का पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई राज्यको विकासको महत्वपूर्ण साझेदारका रूपमा अघि बढ्न आग्रह गरे।
प्रधानमन्त्री शाहले होटल व्यवसायीहरूलाई कानुनको पालना गर्दै व्यवसाय सञ्चालन गर्न, साना तथा मझौला होटललाई पर्यटन विभागमा दर्ता गरी करको दायरामा ल्याउन तथा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा गर्न सकिने सहकार्यबारे अध्ययन गर्न सुझाव दिए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको उपस्थितिमा भएको छलफलमा हानका पदाधिकारीहरूले नेपालका होटल उद्योग वार्षिक ४० लाख पर्यटकलाई सेवा दिन सक्षम रहेको जानकारी गराए।
उनीहरूले हाल नेपालमा वार्षिक करिब १२ लाख पर्यटक मात्र भित्रिरहेको उल्लेख गर्दै पर्यटक आगमन बढेमा रोजगारी सिर्जना हुने र वैदेशिक रोजगारीमा जाने युवाको संख्या घटाउन होटल उद्योगले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए।
हानले नेपालमा आरोग्य पर्यटन (Wellness Tourism), गन्तव्य विवाह (Destination Wedding) र सीमापार पर्यटन (Cross-border Tourism) को ठूलो सम्भावना रहेको उल्लेख गर्दै सरकारसमक्ष विभिन्न नीतिगत सुधारका प्रस्ताव पनि राख्यो।
व्यवसायीहरूले होटल उद्योगलाई उत्पादनमूलक उद्योगसरह विद्युत् महसुलमा सहुलियत दिन, २५ शय्यासम्मका होटलका लागि लागू गरिएको संक्षिप्त वातावरणीय मूल्यांकन (IEE) को सीमा ५० शय्यासम्म विस्तार गर्न तथा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गरी नेपाल एयरलाइन्सको सेवा सुधार गर्न आग्रह गरेका छन्।
त्यस्तै, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ मा ट्रेडमार्क प्रयोगबापतको रोयल्टीको ५ प्रतिशत सीमा पुनरावलोकन गरी आपसी सहमतिमा शुल्क निर्धारण गर्न सकिने व्यवस्था गर्न, होटल व्यवसायसँग सम्बन्धित कानुन संशोधन गर्न तथा डेस्टिनेसन वेडिङका लागि गरगहना आयात प्रक्रिया सहज बनाउन पनि सरकारसँग माग गरिएको छ।
हानले आरोग्य पर्यटनको प्रभावकारी प्रवर्द्धनका लागि फोटो र भिडियोमा मात्र सीमित नरही ‘फुल स्टोरी टेलिङ’ आधारित प्रचार अभियान सञ्चालन गर्न तथा आवश्यक विशेषज्ञ जनशक्ति उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ।
छलफलमा हानका कार्यवाहक अध्यक्ष दिनेश तुलाधर, महासचिव साजन शाक्य, कोषाध्यक्ष युवराज श्रेष्ठ, कार्यसमिति सदस्य जयदिन श्रेष्ठ, आश्लेषा कार्की तथा सचिवालय प्रमुख टेकबहादुर महत सहभागी थिए।