सांसद मनिष झा भन्छन्: यस्तो बचपना देखाएर राजकाज चल्छ?

सांसद मनिष झा भन्छन्: यस्तो बचपना देखाएर राजकाज चल्छ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले विभिन्न सञ्चारगृह तथा राजनीतिक नेताहरूको निवास अगाडि शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरी अवरोध सिर्जना गरिएको घटनाप्रति आपत्ति जनाएका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले यस्तो गतिविधिलाई ‘बचपना’ र ‘स्तरहीन हर्कत’ को संज्ञा दिएका छन्। घटनामा संलग्न जोसुकै भए पनि निष्पक्ष अनुसन्धान गरी कानुनबमोजिम कारबाही गर्नुपर्ने उनको माग छ।

झाले लेखेका छन्, ‘सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो। यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ। राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो, राज्यले आफैं थप आतङ्कित बनाउने होइन।’

उनले यस्ता गतिविधिले राज्यप्रतिको विश्वास कमजोर बनाउने भन्दै जिम्मेवार निकायले तत्काल सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन्।

साथै, यस्तो ‘बचपना’ र ‘स्तरहीन’ गतिविधिबाट कसैलाई पनि लाभ नहुने उल्लेख गर्दै लोकतान्त्रिक प्रणालीमा कानूनको शासन र नागरिक सुरक्षालाई प्राथमिकता दिनुपर्ने धारणा उनले व्यक्त गरेका छन्।