

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सञ्चारमाध्यमका कार्यालयको गेटअगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त घटनालाई पार्टीले गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै संलग्न जोसुकै भए पनि कानुनबमोजिम कारबाही हुनुपर्ने धारणा राखे।
लामिछानेले पार्टीले यसअघि नै विज्ञप्तिमार्फत घटनाको निन्दा गर्दै छानबिन र कारबाहीको माग गरिसकेको स्मरण गराए।
उनले भने, “पार्टीले पहिल्यै स्पष्ट रूपमा यो गलत हो, यस्तो हुनु हुँदैन, छानबिन हुनुपर्छ र कारबाही हुनुपर्छ भनेर भनेको छ। हामी अहिले पनि त्यही अडानमा छौँ।”
यदि घटनामा रास्वपाका कुनै नेता वा कार्यकर्ता संलग्न भएको पुष्टि भए पार्टीले आवश्यक कारबाही गर्ने पनि उनले बताए।
लामिछानेले घटनाप्रति पार्टीको धारणा स्पष्ट रहेको उल्लेख गर्दै तत्काल कसलाई पक्राउ गरियो, कसलाई छाडियो वा के मुद्दा दर्ता भयो भन्नेभन्दा पनि देखिएको गतिविधि अस्वाभाविक भएकाले त्यसको सत्यतथ्य बाहिर आउनु आवश्यक रहेको बताए।
उनका अनुसार घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनअनुसार कारबाही हुनु नै उचित समाधान हुनेछ।