

काठमाडौं । अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीहरूले आफूहरूलाई हटाउने सरकारी तयारीको विरोध गर्दै मंगलबार अर्थ मन्त्रालयको मूल प्रवेशद्वारमा धर्ना दिएका छन्।
सरकारले अस्थायी र करार कर्मचारीलाई हटाएर आउटसोर्सिङ प्रणालीमार्फत सेवा सञ्चालन गर्ने नीति अघि बढाएपछि वर्षौंदेखि विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारी आन्दोलनमा उत्रिएका हुन्।
प्रदर्शनमा सहभागी कर्मचारीहरूले सबै मन्त्रालयका अस्थायी तथा करार कर्मचारीको सेवा निरन्तरता सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले अर्थ मन्त्रालयको मूल ढोकामा भेला भएर नाराबाजी र प्रदर्शनसमेत गरेका थिए।
सरकारले खर्च कटौती गर्ने नीतिअनुसार अस्थायी र करार कर्मचारीको संख्या घटाउने तयारी गरिरहेको बताइएपछि कर्मचारीहरूले उक्त निर्णयले हजारौं कर्मचारीको रोजगारी संकटमा पर्ने भन्दै तत्काल निर्णय फिर्ता लिन आग्रह गरेका छन्।
आन्दोलनरत कर्मचारीहरूले आउटसोर्सिङ प्रणाली लागू गर्नुको सट्टा लामो समयदेखि सेवा दिँदै आएका कर्मचारीको अनुभव र योगदानको सम्मान गर्दै उनीहरूको रोजगारी सुरक्षित गर्न सरकारसँग माग गरेका छन्।