सरकारको आलोचना गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

सरकारको आलोचना गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारको गुण र दोषका आधारमा समर्थन तथा आलोचना गर्दा आफूलाई सामाजिक सञ्जाल र फोनमार्फत ज्यान मार्ने धम्की आउने गरेको बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा सभामुख डीपी अर्यालले समय उपलब्ध गराएपछि बोल्दै महरले सांसदहरू जनताको अभिमत लिएर संसद्मा पुगेकाले सरकारको अन्धाधुन्ध विरोध नगरी जिम्मेवार भूमिका निर्वाह गरिरहेको बताए।

उनले सरकारले गरेका राम्रो कामको समर्थन र कमजोरीको आलोचना गर्नु प्रतिपक्षको दायित्व भएको उल्लेख गर्दै भने, “हामी सरकारको गुण र दोषका आधारमा समर्थन र विरोध गर्छौं। सरकारलाई सही बाटो देखाउन चाहन्छौं।”

महरले सरकारको आलोचना गरेकै कारण आफूलाई निरन्तर धम्की आउने गरेको गुनासो गरे। उनका अनुसार फेसबुक र फोनमार्फत गोली हान्ने तथा हत्या गर्ने धम्की आइरहेको छ।

उनले संसद् बैठक चलिरहेकै समयमा पनि सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की आएको दाबी गर्दै सभामुखको ध्यानाकर्षण गराए।

सांसद महरले धम्की दिने व्यक्तिहरूले आफ्नो नाम, सम्पर्क नम्बर र ठेगानासमेत सार्वजनिक रूपमा लेखेको दाबी गर्दै सम्बन्धित निकायले यस्ता घटनाको छानबिन गरी आवश्यक कानुनी कारबाही गर्नुपर्ने माग गरे।