प्रधानमन्त्री शाह र रविमाथि नियमावली उल्लंघनको आरोप, एमालेले माग्यो रुलिङ

प्रधानमन्त्री शाह र रविमाथि नियमावली उल्लंघनको आरोप, एमालेले माग्यो रुलिङ

काठमाडौं । नेकपा (एमाले) ले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा प्रवेश गर्ने क्रममा संसदीय नियमावली उल्लंघन गरेको आरोप लगाउँदै सभामुखसँग रुलिङको माग गरेको छ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा एमाले सांसद ऐन महरले प्रतिनिधिसभा नियमावलीको नियम २० को खण्ड (छ) अनुसार सभामुखको आसन र बोलिरहेका सदस्यको बीचबाट हिँड्न नपाइने व्यवस्था रहेको स्मरण गराए।

उनले राप्रपा सांसद खुश्बु ओली संसद्मा बोलिरहेकै बेला प्रधानमन्त्री शाह र सभापति लामिछाने उक्त स्थानबाट प्रवेश गरेको भन्दै नियमावलीको उल्लंघन भएको दाबी गरे।

‘प्रतिनिधिसभा नियमावलीले सभामुखको आसन र बोलिरहेका सदस्यको बीचबाट हिँड्न नपाइने स्पष्ट व्यवस्था गरेको छ। तर प्रधानमन्त्री र सत्तापक्षका सभापति उक्त व्यवस्था विपरीत हिँड्नुभएको देखिएकाले सभामुखको ध्यानाकर्षण गराउँदै यस विषयमा रुलिङको माग गर्दछु,’ सांसद महरले भने।