‘सरकारले जनतामा आशा जगाउन सकेन’ : सांसद अमरेश सिंह

‘सरकारले जनतामा आशा जगाउन सकेन’ : सांसद अमरेश सिंह

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश सिंहले वर्तमान सरकारले पनि नागरिकमा आशा र विश्वास जगाउन नसकेको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले व्यवसायी, युवा, विद्यार्थीलगायत आम नागरिक निराश रहेको दाबी गरे। आफ्नो निर्वाचन क्षेत्र सर्लाहीका युवा विवेक मण्डलको आत्मदाहपछि भएको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले आफू भारी मनका साथ संसद्मा उपस्थित भएको बताए।

सिंहले पछिल्लो एक सातामै तीन युवाले आत्मदाह गरेको उल्लेख गर्दै यसले मुलुकमा बढ्दो निराशाको अवस्था झल्काएको बताए। राज्य सञ्चालन गरिरहे पनि नागरिकमा चरम निराशा छाएको र ‘यो देशमा बाँच्न र केही गर्न सकिँदैन’ भन्ने सोच फैलिनु चिन्ताजनक भएको उनको भनाइ थियो।

उनले संसद्बाट निराशाको सन्देश होइन, आशा र विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै राज्य, जनता र लोकतन्त्रको संरक्षण सबै दलको साझा जिम्मेवारी भएको बताए।

सांसद सिंहले व्यवसायी, युवा, विद्यार्थी तथा आम नागरिकमा विश्वास जगाउन सरकार असफल भएको टिप्पणी गर्दै राष्ट्रिय मुद्दामा सबै राजनीतिक दल एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। उनले सभामुखमार्फत राष्ट्रिय सहमतिको पहल गर्न पनि आग्रह गरे।