‘वालेन्द्र शाहलाई श्री ८ बनाउन खोजियो’ : कांग्रेस सचेतक राई

‘वालेन्द्र शाहलाई श्री ८ बनाउन खोजियो’ : कांग्रेस सचेतक राई

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाहलाई सरकारले ‘श्री ८’ जस्तो अछुतो बनाउने प्रयास गरेको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले प्रधानमन्त्रीमाथि उठ्ने प्रश्नसमेत रोक्न खोजेको भन्दै आपत्ति जनाए। संविधान र कानुनको दायराभित्र उठ्ने प्रश्नभन्दा प्रधानमन्त्रीलाई माथि राख्ने सन्देश सरकारबाट गएको उनको आरोप थियो।

राईले सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको टिप्पणी गर्दै नागरिकलाई आफूले चाहेजति मात्रै बोल्न, देख्न र सुन्न बाध्य पार्ने प्रवृत्ति देखिएको बताए।

उनले १८२ सिटको बहुमत नागरिकको आवाज दबाउने अधिकार नभएको उल्लेख गर्दै गणेश नेपालीको मृत्यु र सुकुम्वासी बस्तीको विषयमा प्रश्न उठाउँदा सञ्चारमाध्यम तथा कांग्रेस नेता गगन थापाको घरअगाडि गाडी तेर्साएर दबाब सिर्जना गरिएको आरोप समेत लगाए।