सडकमा जथाभावी गाडी तेर्स्याउनेलाई राज्यको संरक्षण : सुमना श्रेष्ठको

सडकमा जथाभावी गाडी तेर्स्याउनेलाई राज्यको संरक्षण : सुमना श्रेष्ठको

काठमाडौं । पूर्वशिक्षामन्त्री तथा प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले सडकमा जथाभावी गाडी पार्किङ गरेर अवरोध सिर्जना गर्ने कार्यलाई राज्यले संरक्षण गरेको आरोप लगाएकी छन्।

सोमबार फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै श्रेष्ठले काठमाडौंमा सञ्चारमाध्यमका कार्यालय र सार्वजनिक सडकमा शंकास्पद रूपमा गाडी पार्किङ गर्ने घटनाले राज्य र नागरिकबीचको विश्वास कमजोर बनाइरहेको बताइन्।

उनले नेतृत्व तहमा रहेका व्यक्तिहरूले ‘पाठ सिकाउने’ नाममा फरक मत राख्नेहरूलाई धम्क्याउने र दबाब दिने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै यसले लोकतन्त्र र विधिको शासनमाथि नै प्रश्न उठाएको टिप्पणी गरिन्।

‘हिजो हामीले जथाभावी पार्किङ गरिएका गाडीहरूबाट सास्ती भोग्यौँ। गाडी पहिचान गर्न सजिलो छ, तर सडकको बीचमा गाडी छाड्नेहरूले आफू पूर्ण रूपमा सुरक्षित रहेको महसुस गरे। यही नै आसेपासे पोस्ने (क्रोनिजम) प्रवृत्ति हो,’ उनले लेखेकी छन्।

श्रेष्ठले सत्तामा रहेका व्यक्तिहरूले सबै नागरिकको सेवा गर्नुपर्ने दायित्व बिर्सेर फरक सोच र कार्यशैली भएकामाथि बुलिङ गर्ने शैली अपनाएको आरोप लगाइन्। शक्तिमा रहँदा जे पनि गर्न सकिन्छ भन्ने मानसिकताले दीर्घकालीन समृद्धिको आधार कमजोर बनाउने उनको भनाइ छ।

उनले जनता र सुरक्षाकर्मीबीच अविश्वास बढ्नु कसैको हितमा नरहेको उल्लेख गर्दै स्थानीय सरकारपछि नागरिकको सबैभन्दा नजिकको राज्य संयन्त्र प्रहरी भएकाले दोषको केन्द्र उनीहरूलाई बनाउन नहुने बताइन्।

शान्ति सुरक्षालाई अर्थतन्त्रको आधारस्तम्भको रूपमा व्याख्या गर्दै श्रेष्ठले सुरक्षाकर्मी र नागरिकबीच टकराव सिर्जना गर्नुको सट्टा विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन्।