

काठमाडौं । सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका ३४ वर्षीय विवेक मण्डलको उपचारका क्रममा निधन भएको छ।
असार २५ गते आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेका बेला सोमबार राति करिब २ बजे मृत्यु भएको हो।
घटनापछि प्रादेशिक अस्पताल मलंगवामा प्रारम्भिक उपचार गरिएका उनलाई थप उपचारका लागि शुक्रबार नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो। गम्भीर जलनका कारण उनको अवस्था लगातार चिन्ताजनक रहेको चिकित्सकहरूले बताएका थिए।
प्रहरीका अनुसार मण्डलले बिहीबार दिउँसो घरबाट निस्किएपछि सडकमा पुगेर आफ्नै शरीरमा पेट्रोल छर्की आगो लगाएका थिए। घटनाको कारणबारे अनुसन्धान जारी रहेको छ।
पछिल्ला केही दिनयता आत्मदाहको प्रयासका घटनामा मृत्यु हुनेको संख्या बढेको छ। यसअघि मुगुका गणेश नेपाली र काठमाडौंका आश्विन राउतको पनि उपचारका क्रममा निधन भइसकेको थियो।