पहिरो हटाइएपछि मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

पहिरो हटाइएपछि मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

चितवन । विभिन्न स्थानमा गएको पहिरोका कारण अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड पुनः दुईतर्फी सञ्चालनमा आएको छ।

सडकखण्डको तुइनखोला, केराबारी र जलबीरे क्षेत्रमा पहिरो खस्दा यातायात अवरुद्ध भएको थियो। ती सबै स्थानबाट पहिरो हटाएपछि सडकमा सवारी आवागमन पुनः सञ्चालन गरिएको हो।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सोमबार बिहानैदेखि हेभी उपकरण परिचालन गरी पहिरो पन्छाइएपछि सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइएको हो।

यसअघि सोमबार साँझ लगातार वर्षाका कारण विभिन्न स्थानमा पहिरो खसेर जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले उक्त सडकखण्डमा सवारी सञ्चालन अस्थायी रूपमा रोक लगाएको थियो।

सडक खुला भए पनि रातिदेखि रोकिएका सवारीसाधन एकैपटक सञ्चालनमा आउँदा सडकमा सवारीको चाप बढेको छ। प्रशासनले यात्रु तथा चालकलाई मौसमको अवस्था र सडकको जोखिमलाई ध्यानमा राख्दै सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ।