सञ्चारगृह अगाडि शंकास्पद रूपमा पार्किङ गरिएका गाडी प्रहरीले नियन्त्रणमा लिन थाल्यो

सञ्चारगृह अगाडि शंकास्पद रूपमा पार्किङ गरिएका गाडी प्रहरीले नियन्त्रणमा लिन थाल्यो

काठमाडौं । विभिन्न सञ्चारमाध्यमका कार्यालय अगाडि शंकास्पद रूपमा पार्किङ गरिएका सवारीसाधन प्रहरीले हटाउन थालेको छ। घटनाबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार कान्तिपुर, अनलाइनखबर, हिमालयन टेलिभिजन तथा अनामनगरस्थित भाटभटेनी नजिक कार्यालयको आवतजावतमा अवरोध हुने गरी गाडी पार्किङ गरिएको सूचना प्राप्त भएपछि प्रहरी परिचालन गरिएको हो।

‘हामीलाई चार स्थानमा गाडी कार्यालयको आवतजावत नै प्रभावित हुने गरी पार्किङ गरिएको जानकारी आएको छ। प्रहरी ती स्थानमा पुगिसकेको छ। गाडी नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गर्छौँ,’ एसपी भट्टराईले भने।

प्रहरीले तीनकुनेस्थित कान्तिपुरको कार्यालय अगाडि पार्किङ गरिएको गाडी क्रेनको सहायताले हटाइसकेको छ। अनलाइनखबर र हिमालयन टेलिभिजन कार्यालय अगाडिका गाडी पनि हटाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चारवटै स्थानमा राखिएका सवारीसाधन निजी नम्बर प्लेटका हुन्। ती गाडी कसले, किन र के उद्देश्यले त्यहाँ पार्किङ गरेर राखेको हो भन्ने विषयमा हाल अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।