

काठमाडौं । राहदानी छपाइ ठेक्का प्रकरणलाई लिएर विवाद भइरहेका बेला आजदेखि नेपालमा नयाँ प्रणालीमार्फत राहदानी छपाइ औपचारिक रूपमा सुरु भएको छ।
राहदानी विभागका अनुसार जर्मनीका कम्पनी म्युहलबउर र भेरिडोस ले व्यक्तिगत विवरण संकलन तथा राहदानी पुस्तिका छपाइको काम सोमबारदेखि सुरु गरेका हुन्। परराष्ट्रमन्त्री शिशिर खनाल ले नयाँ प्रणालीको औपचारिक शुभारम्भ गरेका थिए।
राहदानी विभागकी उपनिर्देशक सोनु थापाका अनुसार नयाँ प्रणालीबाट पहिलो चरणमा दुई जना नाबालकको राहदानी छापिएको छ।
यसअघि सन् २०१८ देखि फ्रान्सेली कम्पनी आइडिमिया (IDEMIA) ले नेपाली राहदानी छपाइको जिम्मेवारी सम्हाल्दै आएको थियो। विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गर्दै करिब एक करोड नेपाली नागरिकको राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको जनाएको छ।
राहदानी विभागका अनुसार नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत अब सेवा सञ्चालनमा आएको छ।
यसअघि ठेक्का प्रक्रियामा भ्रष्टाचार भएको आरोप लागेपछि प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धानका लागि दबाब दिएको थियो। मुद्दा दायर भए पनि अन्तर्राष्ट्रिय सम्झौता भइसकेकाले ठेक्का रद्द गर्दा कानुनी तथा कूटनीतिक जटिलता उत्पन्न हुने निष्कर्षपछि सरकारले ठेक्का रद्द गर्ने निर्णयबाट पछि हटेको थियो।
विभागले भने नयाँ प्रणाली कार्यान्वयनको प्रारम्भिक चरणमा केही प्राविधिक समस्या, प्रणाली सुस्त हुने वा राहदानी वितरणमा सामान्य ढिलाइ हुन सक्ने जनाएको छ।
विभागले जारी गरेको सूचनामा २४सै घण्टा प्राविधिक टोली, कर्मचारी तथा प्रणाली विकास गर्ने कम्पनीका विशेषज्ञहरू प्रणालीको निरन्तर अनुगमन, परीक्षण र सुधारमा खटिएको उल्लेख गर्दै सेवाग्राहीलाई धैर्य गर्न अनुरोध गरेको छ।