पोखरा, २० कार्तिक । पोखरा प्रिमियर लिग पीपीएल क्रिकेटमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै पोखरा पल्टनले उपाधि जितेको छ । पोखरा रंगशालामा भएको फाइनलमा अन्तिम ओभरमा रोमाञ्चक जित निकाल्दै पोखराले पहिलो संस्करणको पीपीएलको उपाधि जितेको हो ।
चितवनले दिएको १ सय ६१ रनको लक्ष्य पोखराले १९ दशमलब २ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो । पोखराका लागि रवि इन्दर सिंहले ५८ बलमा १३ चौका र ३ छक्का प्रहार गर्दै ९० रन बनाए, भने मोहम्मद नाभिदले १४ बलमा २५ रन बनाए । पोखराका कप्तान शरद भेषावकरले २२ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६० रन बनाएपछि पोखराले मध्यम स्कोरको लक्ष्य पाएको थियो ।
चितवनका लागि कप्तान पारस खड्काले अर्धशतक बनाए । उनले ३७ बलमा ९ चौका प्रहार गर्दै ५१ रन बनाए । त्यस्तै, चितवनका लागि सन्नी पटेलले २१ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ४३ रन बनाए । पीपीएलको विजेता पोखराले ट्रफिसहित २७ लाख नगद पुरस्कार प्राप्त गरेको छ । त्यस्तै, उपविजेता बनेको चितवनले १० लाख नगद प्राप्त गरेको छ । ९० रन बनाएका पोखराका रवि इन्दर सिंह म्यान अफ दि म्याच घोषित भए ।