मन्त्रीहरूको खरिपाटी होल्डिङ सेन्टरमा अनुगमन, लालपुर्जा दिने आश्वासन

मन्त्रीहरूको खरिपाटी होल्डिङ सेन्टरमा अनुगमन, लालपुर्जा दिने आश्वासन

काठमाडौं । गृहमन्त्री सुदन गुरुङसहित सरकारका विभिन्न मन्त्रीहरूले आइतबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरको अनुगमन गर्दै त्यहाँ आश्रय लिएका सुकुम्बासीसँग छलफल गरेका छन्।

गृहमन्त्री गुरुङसँगै सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोख्रेल, भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावल, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता वादी, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव पनि अनुगमनमा सहभागी थिए।

भूमि व्यवस्थामन्त्री रावलले आवश्यक कानुनी प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गर्ने गरी सरकारले दीर्घकालीन समाधानको तयारी गरिरहेको बताइन्। सुकुम्बासी व्यवस्थापनमा केही समय लाग्ने उल्लेख गर्दै उनले यस विषयलाई राजनीतिक मुद्दा नबनाउन आग्रह गरिन्।

गृहमन्त्रीको सचिवालयका अनुसार मन्त्रीहरूले सुकुम्बासीसँग प्रत्यक्ष छलफल गर्दै तत्कालीन राहत र दीर्घकालीन व्यवस्थापनबारे सरकारको तयारीबारे जानकारी गराएका थिए।

कीर्तिपुरस्थित होल्डिङ सेन्टर वर्षाका कारण डुबानमा परेपछि त्यहाँ रहेका सुकुम्बासी परिवारलाई अस्थायी रूपमा भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको हो।