

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आइतबार देशका २३ जिल्ला र आसपासका खोला तथा नदीमा बाढी आउन सक्ने सम्भावना रहेको भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकलाई सुन्तला रङको जोखिम क्षेत्रमा राखिएको छ। यी जिल्लामा नदी तथा खोलाको जलसतह उल्लेख्य बढ्ने र बाढीको उच्च जोखिम रहने पूर्वानुमान गरिएको छ।
यस्तै पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर, सोलुखुम्बु, संखुवासभा, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, रौतहटलगायत जिल्लाका ससाना नदी र खोलामा बहाव बढ्ने तथा आकस्मिक बाढीको मध्यम जोखिम रहने महाशाखाले जनाएको छ।
महाशाखाले नदी किनार, तटीय बस्ती तथा डुबान हुन सक्ने क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सावधानी अपनाउन र सतर्क रहन अनुरोध गरेको छ। महाशाखाका अनुसार हरियो रङले न्यून जोखिम, पहेँलो रङले मध्यम जोखिम, सुन्तला रङले उच्च जोखिम तथा रातो रङले नदीको जलसतह खतरा तह पार गर्ने अत्यधिक जोखिमको संकेत गर्दछ।
